आ-आफ्नै सगरमाथा

Juny 10, 2016
निशा अधिकारी, नायिका /सगरमाथा आरोही। तस्बिरः चन्द्रशेखर कार्की

‘ दुनियाँले चिन्छन् भनेर पहाड नचढ्नू। संसार हेर्न उक्लेको हो भने, कुरा अर्कै हो।’

ट्रेकिङबाट फर्केको तीन साता भयो। तर, ह्याङओभर बाँकीनै छ।

म कुनै हिमाल चढेर फर्केको होइन। मैले सक्ने कुरा पनि होइन। करिब १४ हजार फिटसम्म पुग्न सकेकोमा म आफैंलाई पटक पटक धाप मार्दै छु।

यस्तो लाग्दैछ, मानौं सगरमाथा चढेर फर्किएको हुँ। नलाग्नु पनि किन? हामी सबैको जीवनमा आ-आफ्नै निजी सगरमाथा हुन्छ। पोलिस पर्वतारोही वाण्डा रूटकिविकका शब्द हुन् ‘चढ्नको निम्ति, हामी सबैसँग आफ्नै सगरमाथा हुन्छ।’

हो त नि, गहिरिएर हेरेँ-हामी सबैसँग आफूले आरोहरण गर्नु आ-आफ्नै सगरमाथा छ। लाङटाङ ट्रेकिङ जाँदा बाटोमा एक जना भाइसँग परिचय भयो। उसका निम्ति सगरमाथा भनेको आर्मीमा भर्ना हुनु हो। सके ब्रिटिस आर्मी, नसके ईन्डियन आर्मीसम्म पुग्ने सगरमाथा। १० हजार फिटमा चिया दोकान थापेर बसेकी पेमा शेर्पाका निम्ति सगरमाथाको शिखर भनेको हिमालको चुचुरो होइन, खाडीको मरूभूमी हो। ‘अब दुई महिनामा त कतार जाने भिसा आउँछ होला, यता बसेर त बच्चा पढाउनै गाह्रो,’ दुख: छिपाउन फिस्स हासिन् पेमा। मैले वाण्डालाई सम्झेँ, ‘चढ्नको निम्ति, हामी सबैसँग आफ्नै सगरमाथा हुन्छ।’

वाण्डाको बारेमा थाहा पाएको धेरै भएको छैन। पर्वतारोहरणका पाना पल्टाउँदै जाँदा संयोगवश वाण्डासँग ठोक्किन पुगेँ। उनी बाचेकी भए, एक झलक देख्न चाहन्थेँ। एक साँझ भरी उनलाई सुन्न चाहन्थेँ... कहिलेकाही, मलाई पृथ्वीबाट हिँडिसकेकासँग पनि प्रित गास्न मन लाग्छ। उमेर र कालको सीमा नाघेर पनि मायाका गीत लेख्न मन लाग्छ। सन १९४३ मा जन्मेकी वाण्डा जम्मा ४९ वर्ष पृथ्वीमा रहिन्। विश्वमा रहेको आठ हजार फिटभन्दा अग्ला १४ शिखर मध्ये ८ शिखर आरोहरण गरेकी वाण्डा विश्व ईतिहासको महानतम् महिला पर्वतारोही हुन्। सगरमाथा चढ्ने उनी तेस्रो महिला हुन् भने आरोहरणका दृष्टिले संसारमा सबैभन्दा मुस्किल पहाड मानिने माउण्ट केटु शिखर (जो विश्वको दोस्रो अग्लो पर्वत पनि हो) चढ्ने पहिलो महिला हुन्। अन्नपूर्ण साउथ त उनले ‘सोलो’ चढिदिइन्। सन् १९९२ मा कन्चनजंघा अभियानबाट फर्कने दौरान उनले आफ्नो ज्यान गुमाइन्। बिशाल हिमालयमा उनी एक्लै पनि हिड्थिन्, सहयोगीको लावा लस्कर साथ होइन। पर्वतारोहणमा लाग्नुभन्दा पहिला वाण्डाको रूची ‘हेभी मोटरसाइकल’ कुदाउँने थियो। सन १९६१ को गर्मी महिनाको एक दिन, हाइवेमा दौडिरहेको उनको मोटरसाइकलको तेल सकियो। उनले हात हल्लाएर सहयोग मागिन्। कुनै वाहन रोकिएन। धेरै पछि एउटा मोटर साइकल रोकियो। जो रोकियो, त्यसको पछिल्लो सिटमा बसेको मानिससँग वाण्डाको मित्रता स्थापित भयो। पछाडि सिटको मान्छे पर्वतारोहरणमा रूची राख्थ्यो। त्यही मान्छेको मित्रताले वाण्डालाई पर्वतारोहरणमा तान्यो। दुबैले मिलेर फाल्कन पर्वत चढे।

त्यसपछि पहाडसँग वाण्डाको यस्तो प्रित बस्यो, जुन प्रेमका लागि वाण्डाले आफ्नो ज्यानसमेत दिइन्। सन् १९९२ मा कन्चनजंघा आरोहरणबाट फर्कदै गर्दा उनले आफ्नो अन्तिम सास लिइन्। वाण्डाको लाश आजसम्म भेटिएको छैन। हिमालयसँग उनको प्रेम थियो। आफ्नो प्रेमीकै काखमा, सदाका लागि विलिन् भइन् वाण्डा। जुन युग र प्रविधिमा वाण्डाले आठ हजार फिट माथिका त्यतिका शिखर चुमिन्, त्यो युग पर्वतारोहरणका हिसाबले आज जस्तो सरल थिएन। पर्वतारोहरण, आज पनि सजिलो छैन तर वाण्डाको समयमा कयौं गुणा दुष्कर थियो। त्यसै कारण, वाण्डा रूटकिविकको नाम बेजोड-बेमिसाल छ। अब आउने सुदूर भविष्यसम्म पनि, महिला पर्वतारोहीका रूपमा पर्वतारोहणका वाण्डा रूटविकका किर्तिमानलाई छुन सजिलो छैन।

कालजयी छ उनको अमूल्य वचन्- ‘चढ्नको निम्ति, हामी सबैसँग आफ्नै सगरमाथा हुन्छ।’

Read more at: www.setopati.com




Recent Comments

Beautiful design rolex replica, quite retro style, smooth and smooth lines replica watches, curly warm, inspired by the neoclassical architecture in replica watches uk Milan, Emmanuel II Arcade. Multi-level case by polishing, so that swiss replica watches the design of the watch more full.